महिला तथा युवा समुहलाइ अभिमुखिकरण

यस छत्रेश्वरी गाउँपालिकामा महिला तथा युवा समुहका प्रतिनिधिहरुका लागि स्थानीय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत भोटेचौरमा आज अभिमुखिकरण सम्पन्न भएको हो । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि छत्रेश्वरी गाउँपालिका संगको साझेदारीमा दलित विकास समाज सल्यान र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा अन्य विषयगत क्षेत्रमा कार्यरत संस्थाहरु क्लीन अफ नेपाल, युवालय र सोसेक नेपालको सहभागितामा वडा नम्बर ३, ४ र ५ मा यो कार्यक्रम सुरु भएको छ ।

अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले स्थानीय तहका नीति, योजना, बजेट तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयनका लागि युवा तथा महिला समुहको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । छत्रेश्वरी गाउँपालिकालाइ जवाफदेही, पारदर्शी, उत्तरदायी र जनमुखी स्थानिय सरकारको रुपमा विकास गर्ने आफुहरुको उदेश्य रहेको भन्दै उहाले यसका लागि युवा, महिला लगायत समुदायका हरेक नागरिकहरुको सार्थक सहभागीता संगै रचनात्मक सुझावको पनि अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजनाका जिल्ला संयोजक श्री उमेश खरेल र नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष श्री शंकर केसीले स्थानिय तहमा योजना तर्जुमाका चरणहरु, योजना निर्माणमा सामुदायिक समुहको भुमिका, सुचनाको हक र सामुदायिक नेतृत्व विकास सम्बन्धि अभिमुखिकरण गरेका थिए । कार्यक्रमको संचालन परियोजनाका पालिका सुपरभाइजर श्री लिला वली परियारले गर्नुभएको थियो ।

-२४ जेठ, २०८१ News and Photo Copy: https://www.facebook.com/photo/?fbid=764324739204324&set=pcb.764326785870786